• २०८३ असोज २, शुक्रबार
  • 02:52

बन्दीपुर १ र भानु १ को पुरै भाग डुम्रे भन्सार नयाँ शहर आयोजनाको कार्यक्षेत्रमा समेटिने

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ र भानु नगरपालिका वडा नं १ को पुरै भाग समेट्ने गरी डुम्रे भन्सार नयाँ शहर आयोजनाको कार्यक्षेत्रमा पर्ने गरी निर्णय भएको छ ।

 

नेपाल सरकार शहरी विकास मन्त्रालयको शहरी पूर्वाधार तथा फोहोरमैला व्यवस्थापन शाखाले शहरी विकास तथा भवन निर्माण विभागलाई आज आइतबार पत्राचार गरेको हो । नयाँ शहरहरुको भौगोलिक सीमा हेरफेर गरी कायम गर्ने सन्दर्भमा निर्णय लागू गर्न आग्रह गरी पत्राचार गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह समक्ष नेकपा एमालेकी नेत्री एवं राष्ट्रिय सभा सदस्य एवं सत्तापक्ष प्रमुख सचेतक भगवती न्यौपाने नेकपा एमालेका नेता रामबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा उपाध्यक्ष पञ्चमाया गुरुङ वडाध्यक्ष शिव कुमार श्रेष्ठ लगायत नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले पटकपटक बन्दीपुरका छुटेका केही भूभागलाई सीमा हेरफेर गर्न आग्रह गर्नुभएको थियो ।

 

डुम्रे भन्सार नयाँ शहर आयोजनामा हाल बन्दीपुर गाउँपालिका वडा नं. १ को पुरै भूभाग र भानु नगरपालिका वडा नं. १ को पुरै भुभाग समेट्ने गरी निर्णय भएको हो ।

 

यससँगै धादिङको बैरेनी गल्छी नयाँ शहर आयोजनामा हालको गल्छी गाउँपालिकाको १, ४, ६ र ७ ‌वडाहरु र दैलेख जिल्लाको राकम कर्णाली नयाँ शहर आयोजनामा आठबिस नगरपालिकाको २, ३ र ४ वडाहरु समेत नयाँ शहर आयोजनामा समेट्ने गरी निर्णय भएको छ।

 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले नयाँ सहरी आयोजना हेरफेर भएकोमा खुसी व्यक्त गर्दै यो निर्णयले गाउँपालिकाको विकास निर्माणमा सकारात्मक प्रभाव पार्ने समेत विश्वास लिनुभएको छ ।

 

विगतमा धेरै सरकारहरू फेरबदल भइरहँदा पनि उक्त निर्णय हुनसकेको थिएन । निर्णय भएपछि बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता शिव कुमार श्रेष्ठले साथ दिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस