तनहुँको भानु न.पा.को आ.व. २०७९/०८० को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
तनहुँको भानु नगरपालिकाले आज बिहिबार आ.व २०७९/०८० को वार्षिक कार्यक्रमको समीक्षा सम्पन्न गरेको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेल, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सबै शाखाका शाखा प्रमुखहरू, राष्ट्रसेवक कर्मचारीहरू, नगर प्रमुखका प्रेस सल्लाहकार डि.पी. अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त समीक्षा कार्यक्रममा सबै शाखा प्रमुखहरूले आ-आफ्नो शाखाबाट गत आ.व. २०७९/०८० मा सम्पादित कार्यक्रम, कुल बजेट, खर्च, वित्तीय प्रगति, असल अभ्यासहरू, समस्या र चुनौतीहरू र आगामी कार्यदिशाका साथ कार्यसम्पादनका दृश्यात्मक झलक पनि प्रस्तुत गरेका थिए ।
यस्तै गरि उक्त कार्यक्रममा नगर शिक्षा अधिकारीले शिक्षा, युवा तथा खेलकुद शाखाबाट गत आवमा सम्पन्न कार्यक्रमहरू, समग्रमा प्रगति, शिक्षा क्षेत्रका असल अभ्यासहरू, समस्या र चुनौती र आगामी कार्यदिशाका बारेमा प्रस्तुतीकरण गर्नुका साथै कार्यसम्पादनको झलक समेत प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात् सम्बन्धित शाखाको कार्यसम्पादनका बारेमा छलफल र अन्तरक्रिया समेत भएको थियो ।
समग्रमा शिक्षा, युवा तथा खेलकुद शाखाको कार्यसम्पादन राम्रो रहेको, विगतको तुलनामा धेरै कार्यक्रमहरू ल्याइएको, विद्यालयहरू भौतिक, शैक्षिक र सूचना प्रविधिको हिसाबमा स्रोतपुर्ण बन्दै गएको, शाखाले धेरै रचनात्मक कार्यक्रमहरू सम्पादन गरेको, वार्षिक प्रगति पनि सन्तोषजनक (९७.४१ प्रतिशत) रहेको र शाखा प्रमुख लगायत कर्मचारीहरूले राम्रो मिहिनेत गरेको भनी उपस्थित सबैले सराहना गरेका थिए ।
जनप्रतिनिधिहरू लगायत अन्य सहभागीहरूले आगामी दिनमा विभिन्न कार्यक्रममा नगरपालिका केन्द्रित हुनुपर्ने भनी सुझाव दिएका थिए। न्यून विद्यार्थी भएका विद्यालयलाई मर्जिङ्/डाउनसाइजिङ गरी उपलब्ध जनशक्तिको सहि सदुपयोग गरिनुपर्ने, भौतिक निर्माणका कार्यहरू, सेनिटरी प्याड लगायतका टेन्डर प्रक्रियाबाट गर्नुपर्ने कामहरू समयमा नै सम्पन्न गर्नु, गराउनुपर्ने, पुराना शिक्षकहरू आधुनिक सूचना प्रविधिको प्रयोग र शिक्षण विधिमा अपडेट हुन नसकेकाले उक्त शिक्षकहरूलाई कि त क्षमता विकास गराउनु पर्ने अथवा अवकाशको कुनै प्याकेज ल्याएर उपयुक्त निकास निकाल्नु पर्ने लगायतका सुझाव दिएका थिए।
यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई कम खर्चिलो बनाउन शुरूमा क्षेत्रगत प्रतिस्पर्धा गराई छनोट भएका खेलाडीलाई मात्र नगरस्तरीय प्रतिस्पर्धामा सहभागी गराउनु राम्रो हुने, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, एस.एम्.सी./पी.टी.ए.का पदाधिकारीहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भनी भानु नगर कार्यपालिकाले गरेको निर्णयलाई कडाइका साथ लागू गर्नुपर्ने, विद्यालय सुपरिवेक्षण, कक्षा अवलोकन तथा पृष्ठपोषण दिने कार्यक्रमलाई सघन रूपमा बढाउनु पर्ने, प्राविधिक शिक्षा छात्रवृत्ति बर्सेनि उपलब्ध गराउनुपर्ने, विद्यालयको पठनपाठनमा असर नगरोस भन्ने अभिप्रायले प्रधानाध्यापक बैठक मासिक रूपमा नबसी त्रैमासिक रूपमा मात्र बस्दा राम्रो हुने, आवश्यक परेमा जुम मिटिङ्ग गर्ने, विद्युतिय हाजिरी प्रणालीलाई सबै विद्यालयमा विस्तार गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।
उक्त शिक्षा, युवा तथा खेलकुद शाखाको बारेमा प्राप्त सुझावहरू कार्यसञ्चालन भन्दा बढी नीतिगतसँग सम्बन्धित रहेकोले शिक्षा शाखा मात्र नभएर नगर शिक्षा समिति, सामाजिक विकास समिति, नगर कार्यपालिका र नगरसभा सबैले सकारात्मक सहयोगका साथ वार्षिक नीति, कार्यक्रम र बजेटबाट सम्बोधन गर्नुपर्ने प्रकृतिका रहेका र जनप्रतिनिधीहरू बाट प्राप्त सुझावहरू अत्यन्त मननीय रहेको तथा यस्तै रचनात्मक सुझावहरूको निरन्तर अपेक्षा राख्दै आगामी दिनमा पनि सिर्जनशील सुझावहरूलाई शाखाको तर्फबाट अधिकतम कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै सबैमा शिक्षा, युवा तथा खेलकुद शाखा भानुले नगरपालिकाले हार्दिक कृतज्ञता प्रकट गरेको छ।





प्रतिकृया दिनुहोस