मर्स्याङ्दी करिडोर अन्तरपालिका समन्वय बैठक सम्पन्न, तीन सदस्यीय पर्यटन उपसमिति गठन
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
तनहुँको बन्दीपुर गाउँपालिकामा मर्स्याङ्दी करिडोर अन्तर्गतका पालिकाहरुको अन्तरपालिका समन्वय बैठक हिजो आइतबार सम्पन्न भएको छ ।
मर्स्याङ्दी उपत्यकाभित्र पर्ने तनहुँ, लमजुङ र गोरखा जिल्लाका नगरपालिकाहरु भानु, बेशिशहर, सुन्दरबजार, राइनास र पालुङटार साथै गाउँपालिकाहरु आँबुखैरेनी, दोर्दी र बन्दीपुर गरि आठ वटा पालिका उक्त करिडोरमा सम्मिलित रहेका छन् ।
उक्त बैठकमा करिडोर अन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।
उक्त बैठकले करिडोरभित्र रहेका पर्यटकीय स्थलहरु जोडने सर्किट निर्माण गरि दिर्घकालिन पर्यटनको विकास र प्रवर्द्धन गर्न तीन सदस्यीय पर्यटन उपसमिति गठन गरेको छ ।
उक्त बैठकबाट दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी संयोजक, राइनास नगरपालिकाका प्रमुख खडगबहादुर गुरुङ सदस्य र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा सदस्य गरि तीन सदस्यीय पर्यटन उपसमिति गठन गरिएको छ ।
बैठकले आसपासका दुई वा तीन पालिकाको साझेदारीमा सरसफाई कार्यका लागि तत्काल दिर्घकालिन समस्या समाधानका उपायहरु अर्को बैठक सम्म पहिचान गरि कार्यन्वयनमा लैजाने निर्णय गर्नुका साथै करिडोर भित्रका पालिकाहरु कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एक आपसमा बजारिकरण र साझेदारीका कार्यक्रमहरु संयुक्त रुपमा अगाडि बढाउन आगामी फागुन १२ गते बेशिशहर नगरपालिका बेशिशहरमा बृहत तेस्रो बैठक बस्ने निर्णय गरेको छ ।
बन्दीपुर गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त बैठकमा मर्स्याङ्दी करिडोरका अध्यक्ष भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीको सभापतित्व रहेको थियो भने बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर गाउँपालिका अन्तर्गत रहेका १७ पर्यटकीय स्थलहरु समेटिएको ‘क्यु आर कोड’ मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस