• २०८३ श्रावण १५, शुक्रबार
  • 02:40

राइनासमा परम्परागत सीपलाई व्यवसायमा रुपान्तरण गर्न छलफल एवं प्रशिक्षण सम्पन्न

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

लम्जुङको राइनास नगरपालिकाले, "समृद्ध राइनासका लागि दुना टपरी व्यवसाय, स्थानीय उत्पादन उपभोग गरौ, परम्परागत सीपलाई व्यवसायमा रुपान्तरण गरौ" भन्ने संकल्पका साथ  छलफल एवं प्रशिक्षण सम्पन्न गरेको छ।


राइनास-२, भलायखर्कमा भएकाे छलफल एवं प्रशिक्षण आज बिहिबार सम्पन्न भएको हो । 


उक्त छलफलबाट पालिकाका १० वटै वडाका सम्भाव्य स्थानका महिलाहरूलाई आवद्व गर्ने, मिलिजली सहकारी हर्राबाेटले समन्वय, संचार र सबै उत्पादनकाे बजारीकरण गर्ने निर्णय गरेको छ। 


यस्तै गरि उक्त छलफलबाट जेठाे, माइलाे, कान्छाे दुनाटपरीकाे बजार मूल्य क्रमश प्रति गाेटा रू.८, रू.६ र रू.५ कायम गर्ने निर्णय गरेको छ।


यस्तै नगरपालिकाले साप्ताहिक वा पाक्षिक रूपमा क्रमशः लाफा ढुवानीकाे निशुल्क व्यवस्था गर्ने, नि:शुल्क ढुवानीकाे लागि कम्तिमा एउटा समूहले ३००० लाफा तयार गर्ने तथा नगरपालिकाले उत्पादन लागत र बजार मुल्यकाे आधारमा थप प्राेत्साहन गर्ने निर्णय गरेको छ।


यस्तै गरि, पालिका भित्रका सबै सरकारी तथा सामाजिक कार्यक्रम गर्दा अनिवार्य धातु वा पातुका प्लेट र कपकाे प्रयाेग गर्ने, सबै हाेटल तथा रेष्टुरेन्टमा साेही प्रयाेग गर्ने, राइनासकाेट हाेमस्टेमा त्यही दुनाटपरी प्रयाेगमा ल्याउने प्रतिबद्धता गरेको छ भने निश्चित समय पश्चात् पालिकामा कम्तिमा पलाष्टिक भाडामा खाने प्रथामा प्रतिवन्ध लगाउने कार्य नगरपालिकाले गर्ने निर्णय समेत गरेको छ।


यस्तै, हेपिएकाे रथाने सिपलाई त्यसै खेर जानेे समय, जाँगर र पातलाई जाेडी उद्यमशिलता प्रवर्द्वन गर्दै स्वराेजगार बन्दै पकेट भर्न, समृद्ध राइनासकाे अभियानमा जुट्न तथा सहभागी बन्न, सल्लाह सुझाव दिदै यसलाई थप परिस्कृत र परिमार्जन गर्नका लागि समेत नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस