पालुङटार न.पा.को आ.व. २०८०/८१ को वार्षिक नीति, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।
पालुङटार नगरपालिकाले आगामी आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा साथै भू-वर्गीकरण सम्बन्धी विज्ञ व्यक्तिहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम हिजो शनिबार सम्पन्न गरेको छ।
नगर प्रमुख विवस चिन्तनको अध्यक्षतामा नयाँबजार, काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा उप-प्रमुख बन्दना पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो।
सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रमुख सचेतक हितराज पाण्डे, गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धिताल, प्रदेश सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा, पुर्व नगर प्रमुख दिपक बाबु कडेल लगायतको को उपस्थिति रहेको थियो।
पालुङटार नगरपालिकाका विभिन्न क्षेत्रमा काम गरेर विज्ञता हासिल गरी काठमाडौँमा रहेका विज्ञहरुको उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा डा. मोदनाथ मरहट्टा, डा. सुमन बाबु मरहट्टा, डा. हरि कुमार श्रेष्ठ, डा. लक्ष्मी मरहट्टा लगायतका विज्ञहरुले पालुङटारको आगामी आ.व.को नीति तथा कार्यक्रमको लागि सुझाव दिनु भएको थियो।
यस्तै गरि प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संचालन गर्नु भएको उक्त कार्यक्रममा जग्गा वर्गिकरण सम्बन्धि प्रस्तुतीकरण गरिएको थियो भने नगर प्रमुख ले नीति तथा कार्यक्रमको मोडेल प्रस्तुतिकरण गर्नुभएको थियो।
प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य माओवादी केन्द्र संसदिय दलका मुख्य सचेतक हितराज पाण्डेले जग्गा वर्गिकरणको विषय पालुङटार नगरपालिकाको मात्र समस्या नभएर समग्र देश कै परिस्थिति संग जोडिएले जग्गा वर्गिकरणमा लागि हतारिन नहुने बताउनुभएको छ ।
सोहि अवसरमा उहाँले नेपाल कै ठूला टारहरु मध्येको टार पालुङटार भएकाले यो टारको विकास गर्न के गर्न सकिन्छ भनेर सबै बिज्ञ साथिहरुले सोच्नुपर्ने बेला आएको बताउनुभएको थियो ।
साथै उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै सबै पालुङटार बाहिर रहेका पालुङटारका व्यक्तिहरुले रिटायर्ड लाइफ पालुङटारमा नै गएर व्यतित गर्न अपिल गर्नुका साथै मेट्रो रेलको कन्सेप्ट काठमाण्डौमा मात्र भन्दा पनि पालुङटार भित्रका टारहरुलाई समेटेर मेट्रो रेल सञ्चालन गरी पर्यटक भित्र्याउन लाग्नु पर्ने भन्दै त्यसका लागि आँफुले उपल्लो निकायमा पहल गर्ने बताउनुभएको थियो ।
सोहि अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पालुङटार नगरपालिकाले आफ्नो पालिका भित्रका शिक्षित व्यक्तिहरु संग उनिहरु वसेकै ठाउँमा आएर सुझाव संकलन गरेकामा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको विशेष अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्र राज पाण्डेले कार्यक्रलाई सम्बोधन गर्दै स्वरोजगार रहन चाहने किसानका लागि के दिएर उनिहरुलाई स्थापित गर्न सकिन्छ त्यस तर्फ सचेत हुनु पर्ने बताउनुभएको छ।
किसानले उत्पादन गरेका बस्तुलाई बजारको व्यवस्थापन गर्न तर्फ स्थानिय सरकार लाग्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनका लागि पकेट जोन बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । कुन भूगोलमा के गर्ने भन्ने विषयको टुङ्गो लगाएर मात्र जग्गा वर्गिकरणको विषयलाई अगाडी ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको अतिथिको रुपमा कार्यक्रमलाई सम्बोन गर्दै गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देबकोटाले पालुङटारको बिकासको जिम्मा तपाइ बिज्ञहरुको हातमा आएको भन्दै त्यसको लागि आफुहरु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिकाले विभिन्न विधाका विज्ञहरुसंग सुझाव संकलन गरेर उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटार नगरपालिका स्थायी घर भई काठमाण्डौं वसोवास गर्ने विशिष्टता हाँसिल गरेका व्यक्तिहरुको सुझावलाई समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो भने सोहि अवसरमा विज्ञहरुबाट आएको सुझाबलाई आत्मसाथ गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस